लकडाउन : शिक्षा र अभिभावकको भुमिका

सिता कुमारी गिरी/तनहुँ
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)का कारण उत्पन्न हुन सक्ने गम्भिर स्थितिलाई ख्यालगर्दै नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि आहृवान गरेको लकडाउन हटिसकेको छ । लकडाउन हटेको घोषणा गरिए पनि शैक्षिक क्षेत्र भने अघोषित लकडाउनउबाट अझै मुक्त हुन सकेका छैन । गत शैक्षिक शत्रको अन्त्य तिरबाट शुरु भएको लकडाउनले बर्षभरिको विद्यार्थीको सिकाइको मापन गर्ने परिक्षा तथा नतिजा प्रकाशनलाई प्रभावित त तुल्यायोनै त्यसले समग्र शैक्षिक पद्धति र प्रक्रिया माथि दीर्घकालिन असर पुर्याउने पक्कापक्कि छ । कोभिड-१९ को संक्रमणबाट बच्न र बचाउनका लागि अपनाइएका विभिन्न कृयाकलापले समग्र शैक्षिक जगतलाई पारेको प्रभावका बारेमा गम्भिरतापुर्वक विश्लेषण गरी सृजित परिस्थिति र प्रभावले भविष्यमा पार्न सक्ने नकारात्मक असरलाई व्यवस्थापन गर्ने गरी तत्काल योजना ल्याउनु पर्ने ठुलो चुनौति सरकार सामु रहेको छ ।
विश्व स्वास्थ्य संगठनको अनुसार हाल विश्वव्यापी रुममा फैलिरहेको कोभिड-१९ को प्रभाव वर्षौसम्म पनि रहिरहन सक्ने तथा हाल विश्वव्यापि रुपमा मृत्यु दरमा केही कमी आएता पनि संक्रमणको दर तल माथि भै रहेको छ । नेपाललाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने छिमेकी मुलुक भारतमा देखिएको बढ्दो संक्रमण र मृत्युको अवस्थालाई हेर्ने र नेपालको सिमानाका विरगञ्ज, विराटनगर र नेपालगंजमा बढ्दो संक्रमण र मृत्युको संख्याले जिल्लास्तरमा पुनः आहृवान गरीएको लकडाउनले फेरी देशव्यापी असर नछेड्ला भन्न सकिदैन । स्वास्थ्य मन्त्रालयले दैनिक प्रकाशन गर्ने डाटा अनुसार केही दिन यता कारोना संक्रमितको संख्या हृवात्तै बृद्धि भएको छ । जसको कारण विश्वविद्यालयमा हुने भनिएका परिक्षाको तालिका समेत स्थगित गरिएको सूचना जारी भएका छन् ।
देश तथा विदेशबाट आउने व्यक्तिहरुलाई राख्नका लागि विद्यालयलाई क्वारेन्र्टाईनको रुपमा प्रयोग गरिएको यस जटिल परिस्थितिमा विद्यालय शिक्षामा झनै ठुलो संकट उत्पन्न भएको छ । विद्यालय शिक्षाको वैकल्पिक व्यवस्था प्रभावकारी नभएको नेपालको सन्दर्भमा झण्डै ५ महिनादेखि घरमा रहेका बालबालिकालाई कसरी शैक्षिक गतिविधिमा सहभागि गराउन सकिन्छ भन्ने योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ । सरकारको तर्फबाट ल्याइएको वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई सहजिकरण निर्देशिका २०७७ तथा रेडियो तथा टेलिभिजन सेट मार्फत सञ्चालन गरिएको कक्षा आफैमा पूर्ण प्रभावकारी बन्न नसकेको तथा संक्रमण बढ्दै गएको कारण सरकारले तोकेको मितिमा समेत भर्ना अभियान तथा कक्षा सञ्चालन गर्न नसक्ने पक्कापक्की छ । यसका लागि स्थानीय स्तरमा कसरी शैक्षिक गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने तर्फ सोच्न पर्ने जरुरी देखिएको छ । स्थानीय स्तरमा रहेका शिक्षकको निगरानीमा अभिभावक मार्फत सिकाई प्रक्रियालाई क्रमशः शुरु गर्नुको विकल्प अब नरहेका कारण शिक्षण सिकाइमा कसरी अभिभावकलाई सहभागि बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्नु आवश्यक देखिएको छ ।
माथिका सबै कुरालाई हेर्दा अहिलेको अवस्थामा अभिभावहरु माथि पनि महत्वपूर्ण जिम्मेवारी र चुनौती थपिएको छ । बालवालिकाहरु घरमा भन्दा विद्यालयमा, साथीहरुसँग घुलमिल हुन बढी रुचाउने भएको कारण अभिभावकहरुलाई जस्तै लकडाउनको असर परेको देखिन्छ । लामो समयको लकडाउन कारण बालबालिकाहरुमा डिप्र्सन बढ्दै गएको समाचारहरु सुन्दै र भोग्दै आएका छौं । बढ्दो व्यवसायीक प्रतिश्पर्धा तथा सामाजिक सञ्जालको प्रयोगले अजकल अभिभावकहरुको व्यस्थता असाध्यै धेरै भएको महशुस हामी सबैले गर्न सक्छौ । आमाबुबाहरु टेलिभिजनका सिरियल तथा मोवाइलमा धेरै समय दिई आफ्नो बालबच्चालाई कम समय दिएको उदारहणहरु थुप्रै देखिन्छ । जसले गर्दा छोराछोरीको दैनिकी तथा प्रगतिको बारेमा धेरै आमाबुबाहरु अनविज्ञ रहने गरेको समेत पाईएको छ ।
विद्यालय शिक्षालाईनै सबैथोक ठानी अभिभावकहरुले आ-आफ्नो व्यस्तताका विच छोराछोरीको शैक्षिक तथा अन्य कृयाकलापमा कम चाँसो राखेका कारण उनिहरुमा मनोवैज्ञानिक असर समेत परेको पाईएको छ । जसले उनिहरुको शैक्षिक विकासमा नकारात्कम असर पर्न सक्दछ । त्यसकारण हरेक अभिभावकले आफ्नो बालबच्चाको शैक्षिक एवं अन्य दैनिक क्रियाकलापलाई नजिकबाट नियाल्नु र आवश्यक परेको अवस्थामा तत्काल सहजिकरण गर्नु पर्दछ । झनै अहिलको लकडाउनको अवस्थामा उनिहरुको अस्थिर मनलाई कसरी स्थिर बनाउन सकिन्छ भनि नियमित रुपमा हौसला प्रदान गर्न जरुरी देखिन्छ । शैक्षिक तथा मानसिक क्रियाकलापलाई सक्रिय एवं सकारात्क दिशा तर्फउन्मुख गराउन उनिहरुको नियमित खानपान तथा रहनसहनमा पनि अभिभावकले नजिकैबाट सक्रियताका साथ बुझि सहजिकरण गर्नु आवश्यक छ ।
त्यसैले अभिभावक वर्गले पनि घरमा आफ्ना बालवालिकाहरुलाई विशेष ध्यान दिन जरुरी छ । प्राय सबै बालबालिकाहरु प्रशंसाका भोका हुनेहुँदा कतै हामी त्यसमा चुकेका त छैनौ ? बालबालिकालाई कडा रुखो बोली फिटिक्कै मन पर्दैन । गल्ति गरेको भएपनि सहज रुपमा यसो गर्नु हुन्न भन्दै उनिहरुलाई असल कामको तारिफ गर्दै सहि कुराको जानकारी गराउनु पर्दछ ।
कतिपय अभिभावकहरु साधारण लेखपढ गर्नु भएको छ होला, कतिपय धेरै नै । तर, हामीले आफ्नो बालबालिकालाई कत्तिको रेखदेख गरेका छौ भन्ने तिर ध्यान दिन जरुरी छ । घरमा पढ्न तथा पढाउन र सिकाउन नसक्ने कोही हुनुहुन्छ भने पनि उनिहरुले पढेर सुनेर वा शैक्षिक क्रियाकलापमा नजिकै रहरे सहयोगी बन्न सकिन्छ । त्यसकारण बच्चाले पढेको सुनिदिने र असुद्ध पढेको सुनेमा यस्तो होला भनेर सहजिकरण गर्नाले पनि बालबालिकालाई पढाइप्रति ध्यान जाने हुन्छ । सबैलाई बालबालिकाको अगाडी बस्ने फुर्सद नहुन पनि सक्छ त्यस्तो समयमा घरमा सुन्नुहुने हजुरबा हजुरआमा या उनिहरु भन्दा ठुला अभिभावकले पढेको सुनिदिने हेरिदिने गर्नाले पनि बालबालिकालाई एकदमै ठुलो हौसला मिल्छ। यदि उनीहरुले कुनै गल्ती गरेका छन् भने पनि नराम्रो कामको नराम्रो मान्छेको उदहारण कहिल्यै पनि दिनुहुदैन किनकी बच्चाको ध्यान त्यही नराम्रो कुरा तिर जान्छ । जस्तै नराम्रो साथीको संगत नगर भनियो भने बच्चाको ध्यान त्यही नराम्रो तिर जान्छ र कस्तालाई नराम्रो भन्दा रैछन भन्ने जिज्ञासाले बच्चालाई उतैतिर लाने खतरा हुनसक्छ । जहिले पनि राम्रो गर भन्दा कस्तोलाई राम्रो भन्ने रहेछ भनेर बच्चालाई हरेक कुरा राम्रो गर भन्ने बानि वसाल्नु पर्दछ ।
अन्तत कोभिड-१९ को संक्रमणको यस जटिल अवस्थामा विद्यालय तथा शिक्षकको भर नपरी हरेका अभिभावकले आफ्ना बालबालिकालाई नियमित रुपमा समय छुट्यार पढाइ तथा सिकाइ प्रक्रियालाई घर परिवारबाट पनि निरन्तरता दिनुहुन अनुरोध गर्दछु ।
(लेखक कुश्मावती आधारभुत विद्यालय तनहुँका प्रधानाध्यापक हुन)










