शिःसाघाटे ठाडोभाका लोकगीतका चर्चित गायक सुनबहादुर दुरा
देव वस्न्यात

तनहुँ जिल्लाका चर्चित ठाडोभाका लोकगीतका गायकहरु मध्येको एउटा सुपरीचित नाम हो सुन बहादुर दुरा । उहाँ वि.सं. १९९१ साल असार १५ गतेका दिन लमजुङ जिल्ला सिंदुरे गाउँपालिकामा जन्मनु भएको हो ।
उहाँ चुन बहादुर दुराको नाती, वीरबहादुर दुरा र सेतीमाया दुराको पुत्ररत्न हुनुहुन्छ । लमजुङ तुर्लुङकोटबाट सन्त बहादुर दुरा, जीत बहादुर दुरा र उमान सिंह दुराहरुले शिःसाघाटलाई कर्मथलो बनाएपछि सुन बहादुरलाई पनि शिःसाघाट उपत्यका कस्तो रहेछ हेर्न जाउँजाउँ नै बनायो । सन्तजीहरुकै साथमा शिःसाघाट स्थल अवलोकन गर्नुभयो । मादी नदीको किनारमा रहेको समथर मैदान युक्त शिःसाघाटले उहाँलाई आकर्षित गरायो । छिट्टै शिःसाघाट जान उत्प्रेरित गर्यो । तर कौडी न सौडी बजारतिर दौडी गर्नपनि भएन ।
आफ्नै पाखुरी चलाएर गरिखान सक्ने भएपछि जागिरको दौरानमा उहाँ भारतको वेष्ट वंगाल स्थित टाटा कम्पनी पुग्नु भएको थियो । टाटा कम्पनीमा जागिर पनि मिल्यो । जागिरबाट समय समयमा छुट्टीमा घरफर्कदा आइजाईको बाटोमा पर्ने शिःसाघाट बजारले आउनलाई किन ढिला भयो भनेर जिस्काइ रहेको उहाँलाई अनुभूति भयो । अन्ततः वि.सं. २०३० साल तिर उहाँ शिःसाघाट बसाइ सर्ने निर्णयमा पुग्नु भयो । तत्कालै उहाँको परिवारले लमजुङ जिल्लाको सिंदुरे गाउँपालिकाको बसाइलाई बिटमार्दै तत्कालीन श्याम्घा गाउँपञ्चायत वडा नं. ३ साझाटारको हाल व्यास-६ शिःसाघाट नागिलाटारमा बसाइसरेका हुन ।
उहाँको एकाघरपरिवारमा श्रीमती हिरामायाँ दुरा, छोरा अमरबहादुर दुरा, खेम बहादुर दुरा र छोरी दुर्गा दुरा रहेका छन् । यसै गरी उहाँका जेठा छोरा अमरबहादुर दुरा र बुहारी गीता दुराबाट नातीहरु सुरज दुरा, सुमित दुरा र नातिनी मनिषा दुरा जन्मेका छन भने कान्छो छोरा खेमबहादुर दुरा र बुहारी कृष्ण (सुशीला) दुरा तर्फ छोरी अञ्जली दुरा र छोरा अञ्जन दुरा जन्मेका छन् । आफुले पढ्नलेख्न नपाएता पनि बाल बच्चाहरुले राम्रो शिक्षा प्राप्त गर्नुपर्छ भन्ने मान्यताका साथमा धनी दुराले वि.सं. २०६३ सालमा आए ।
तनहुँ जिल्लाको सदरमुकाम दमौली नजिकै गल्वुबेसीमा बसाइ सर्नु भएको थियो । उहाँको पथलाई अनुसरण गर्दै व्यास-१ गल्वुबेसी निवासी सुशिला दुरा, जालु दुरा, सन्तु दुरा र उमा दुरा, व्यास-१ भादगाउँ (व्रिटिस वेलफेयर नजिक) चन्द्रीका दुरा, मानबहादुर दुरा, जय बहादुर दुरा, मिना दुरा, वीरसुब्बा दुरा, देवेन्द्र दुरा, गोकुल दुरा, करङकाठ बस्ने कृष्णबहादुर दुरा, दान बहादुर दुरा, व्यास-४ जुडिपानीका लेसनायक देखमान दुरा, सुवेदार होमबहादुर दुरा, सोमबहादुर दुरा, ख खेम बहादुर दुरा, प्रकाश दुरा, सिमलटार बस्ने विष्णु दुरा, सांखर बस्ने चन्द्रकला दुरा, कृष्ण बहादुर दुरा, ज्ञानुमायाँ दुरा, अर्जुन दुरा, ओमबहादुर दुरा र इमानसिंह दुरा, पेट्रोल पम्प बस्ने क्या. होमबहादुर दुरा, गोविन्द दुरा, व्यास-२ डाङ्ग्रे खोल्सी बस्ने जनसिंह दुरा समेत हाल दमौलीबजारको आसपास क्षेत्रमा करिव ३६ घर दुराहरुको बसोबास भेटिन्छ ।
वि.सं. २०६८ साल असार ३ गतेका दिन यस सन्सारबाट बिदा लिनु भएका दुराले ठाडोभाका लोकगायन क्षेत्रमा ठूलो गुन लगाउनु भएको छ । ३५ वर्ष भारतको वेष्ट बंगाल स्थित टाटा कम्पनीमा काम गर्नु भएका दुरा आफ्नो गाउँ घरमा गाउँदै आएको ठाडोभाका गीत गाउन भनेपछि हुरुक्कै हुने गर्दथे । विशेष पर्व तथा मेलाहरुमा उहाँ करपुटारबजार, पुतलीबजार, मिर्लुङ्गको ठूलोढुङ्गा र आफ्नैगाउँ शिःसाघाटमा गीत गाउने, र ठेलो हान्ने काममा सरिक हुने गर्नुहुन्थ्यो । उहाँका गीताङ्गे दौतरीहरुमा लमजुङ तुर्लुङ कोटकी ढाँडथोके माइली, लमजुङ चण्डी गाउँकी हस्तमाया दुरा र व्यास-११ रामथुम्की निवासी ठूलोझाँक्रीको छोरी शान्ती दुराहरु थिए भने व्यास-१ गल्वुबेसी निवासी एकाघरकी बुहारी तथा व्यास-१ का न.स.स श्रीमती कृष्ण दुरा (सुशीला दुरा)ले हामीसंगको साक्षत्कारमा बताउनु भयो ।
ठाडोभाका लोकगीत गायन क्षेत्रका सारथी सुनबहादुर दुराले विभिन्नि क्षेत्रमा आयोजित मेला तथा पर्वहरुमा ठाडोभाका लोकगीत गाएर लोकगीत संरक्षण तर्फ दिनु भएको अमूल्य समयलाई कदर स्वरुप दुरा सेव समाज केन्द्र्रीय कार्यालयबाट कदरस्वरु प्रमाणपत्रहरु पाउनु भएको छ । उहाँले प्राप्त गरेका सम्मानलाई यहाँ छायाँ प्रति प्रस्तुत गर्ने जमर्को गरेका छौं ।
देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ, भेडीखर्केसाइला, आफले घर्ती, पुतली सर्किनीका गीत सुन्ने र छोप्ने गर्दागर्दै उहाँ पनि ठाडोभाका गीत गाउनमा माहिर हुनुभयो । विशेष गरेर उहाँलाई तनहुँ, लमजुङ, कास्की र गोरखाका धेरै दिदीबहिनीहरुसंग विभिन्न मेला तथा पर्वहरुमा र रोदीघरमा ठाडोभाका गीत गाउने सुअवसरहरु मिलेका छन् ।
तत्कालीन समयमा टेलीभिजन र रेडियोको सहज पहुँच थिएन । टेलीभिजन झन दुरदराजको कुरा थियो । गीतहरु मेलापर्व र रोदीघरमा नै घन्कने गर्दथे । गीतहरु रेकर्ड गर्ने प्रचलन थिएन । रेकर्ड गर्ने साधनहरु पनि उपलव्ध थिएनन । व्रिटिस तथा इण्डियन लाउरेहरुले ल्याउनेग्रामोफोन र पछिका टेप रिकर्डहरुले विस्तारै ठाउँ ओगट्दै अएका हुन। जुनबेला मिडिया भनेको थाहा थिएन त्यस बेला हरेक गीतहरु टेपरिकर्डमा गरिन्थे ।
समयले कोल्टो फेर्दै गयो । तनहुँमा एफ.एम. रेडियोहरु बज्न थाले । एफएममा नयाँ नयाँ कार्यक्रमहरु थपिंदै गए । तर अहिले नेपाली लोकसंस्कृतिसंग सम्वद्ध संघ संस्थाहरुले ठाडोभाका लोकगीतहरुलाई उच्च प्राथमिकता दिंदै रेकर्ड गरेर युट्युव च्यानलमा राख्ने गरेको पाइन्छ । यही कारण उहाँहरुले गाएको गीतहरुरेकर्ड भएका पाईदैनन । उहाँकै बुहारी कृष्ण दुरासंग सोधनी गर्दा कुनै गीतहरु रेकर्ड भएको सम्झना नभएको बताउनु भयो । उहाँहरुले गाउनु भएका गीतहरु पाउन नसकेता पनि उहाँहरुले नेपाली लोक संगितमा दिनु भएको अमूल्य योगदानलाई भने भूल्न सकिंदैन ।
अन्त्यमा, लमजुङ जिल्लाको इशानेश्वर महादेवको मन्दिर करपुटार बजार, तनहुँ जिल्लाका भानु-११ टुहुरेपसलको पुतलीबजार, भानु-१३ मिर्लुङ ठूलोढुङ्गा पोखरीछाप, व्यास-६ शिःसाघाटमा लाग्ने मेलामा सातदिन सातरातभर ठाडोभाकाका गीतहरु जम्ने गर्दथे । ठाडो भाका गीत गाउने गिताङ्गे र गिताङ्गीहरुमा केही कमी कमजोरी देखिएपछि केही समयसम्म ठाडोभाका गीत सुस्ताएकै हो । भेडिखर्के साइला, देवी गुरुङ, शंङ्कर परियार, उत्तम गुरुङ, रुपा मियाँ, सान्नानी मियाँ, इसुफ महमद, सेती गुरुङ, भीमबहादुर बस्नेतहरुले ठाडोभाका लोकगीतको जगेर्ना गरेका हुन ।
अहिले आएर अघिल्ला पछिल्लो पुस्ताका व्यक्तिहरुले पनि ठाडोभाका गीत अत्यन्त्यै मन पराउँदै आएकाले ठाडोभाका लोकगीतको जगेर्ना हुँदै गएको पाउँदछौ । तनहुँका ठाडोभाका गीतका गिताङ्गेहरुको परिचयमाला प्रकाशन गर्नुपर्छ भन्ने महसुस हुँदा हामीले शंकर परियार, भेखमान दुरा, भीम बहादुर बस्नेत र विष्णु बहादुर अधिकारीको संक्षिप्त जीवनी संकलन गरी सकेका छौं । बिस्तारै आफली घर्ती, पुतली सर्किनी, श्रीमाया सर्किनी, रुपा मियाँ, सान्नानी मियाँ, इसुफ महमद, उत्तम गुरुङ, अनिता गुरुङ, सेती गुरुङ, ज्ञानुमाया थापा (मैवल) मियाँ चतुरे मियाँ र अन्य अज्ञात कलाकारहरुको जीवनीहरु संकलन गरी प्रकाशित गर्ने जमर्कोको सुरुआत गरेका छौं ।










