मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको तेस्रो पटकसम्म म्याद थप्दापनि सकिएन काम

तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना निर्धारित समयमा सम्पन्न हुन सकेन । आँवुखैरेनी–जामुने (पूर्वी) र जामुने–पोखरा (पश्चिम) दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । योजनाको पूर्वी खण्डको तेस्रो पटक थपिएको म्याद सकिएपनि काम भने सकिएको छैन ।

पूर्वीखण्डको तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ ।

उनले भने, ‘कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ ।’

पूर्वी खण्डमा वि.सं. २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो । विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

सडक रेखाङ्कन गरेको बरिब पाँच दशकपछि एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेन सडकलाई चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार गरिँदैछ । दुई खण्डमा विभाजित यस योजनाको निर्माण कम्पनी र लागत पनि फरक–फरक छन् ।

पूर्वीखण्ड अन्तर्गत दमौलीस्थित मादी नदीको पुल र त्यसको करिब ५–६ सय मिटर सडकखण्डको काम बाँकी रहेको छ । इन्जिनियर पाण्डेका अनुसार मादी नदीमा पुल निर्माणको क्रममा रहेकाले सो छेउछाउको केही सडक कालोपत्रे गर्न बाँकी छ । कुल ५–७ सय मिटर सडक कालोपत्रे गर्न बाँकी भएको उनले जनाए ।

यस सडक खण्डमा निर्माण गर्नुपर्ने १८ वटा मोटरेबल पुलमध्ये १७ वटा निर्माण सम्पन्न भएका छन् भने सयौँ कल्भर्ट निर्माण भएका छन् । मादी नदीको पुल भने छुट्टै ठेकेदारले निर्माण गरिरहेको छ, जुन अहिले निर्माणकै चरणमा छ। ‘१७ पुलमध्ये तीनवटा ठूला (मेजर) र १४ वटा साना (माइनर) थिए, ती सबै सम्पन्न भइसके’, इन्जिनियर पाण्डेले भने, ‘सडक पनि लगभग सम्पन्न भइसक्यो । अब केही फाट्टफुट्ट काम मात्र बाँकी छन् ।’

२०२६ सालमा रेखाङ्कन भएको यो सडकमा पछिल्लो समय सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार थालिएको हो । यस खण्डमा डुम्रे र दमौली बजारमा ६ लेन तथा राजमार्गमा ४ लेनको सडक निर्माण गरिएको छ ।

पश्चिम खण्ड ५८ प्रतिशत सकियो

यस्तै, मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड पनि म्यादभित्र सम्पन्न हुन नसक्ने देखिएको छ। जामुनेदेखि पोखराको सेती पुलसम्मको यस खण्डमा हालसम्म करिब ५८ प्रतिशत काम सकिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)ले जनाएको छ । यसको निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद आगामी पुस १६ गतेसम्म छ, तर बाँकी काम सो अवधिमा सम्पन्न हुन नसक्ने योजनाको भनाइ छ । हालसम्म ३६ किलोमिटर एकतर्फी सडक कालोपत्रे भएको पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार एकतर्फी सडकमा १५ सय मिटर कालोपत्रे हुन बाँकी छ । यस्तै, २६ किलोमिटर चार लेन सडक कालोपत्रे भएको छ भने अब १२ किलोमिटर चार लेन सडक कालोपत्रे हुन बाँकी छ।

यसैगरी, पश्चिम खण्डमा पर्ने १२ वटा पुलमध्ये १० वटा निर्माण सम्पन्न भएका छन् । एउटा सम्पन्न हुने चरणमा छ भने अर्को एउटा पुल निर्माण हुन अझै समय लाग्ने देखिएको छ । एक सय कल्भर्टमध्ये ९२ वटाको निर्माण सकिएको छ ।

यो खण्ड पनि म्यादभित्र पूर्ण रूपमा सम्पन्न हुन नसक्ने कुँवरको भनाइ छ । ’म्यादभित्र सडकको मुख्य काम सम्पन्न हुन्छ, तर सर्भिस लेन, फुटपाथ र सुरक्षाका कामहरू यो अवधिमा नसकिन सक्छन् । हाम्रो लक्ष्य चार लेन सडक र सर्भिस लेनको काम सक्ने हो’, योजना प्रमुख कुँवरले भने ‘सर्भिस लेन बनाउन सुरु भइसकेको छ । २५ सय मिटर बनिसक्यो तर अहिले वर्षाले गर्दा निर्माणमा अवरोध छ । कालोपत्रेको काम लगभग ठप्प छ ।’ हाल नाली र संरचना निर्माणको काममा बढी केन्द्रित भएको उनले बताए ।

पश्चिम खण्ड निर्माणको ठेक्का ७ अर्ब ४० करोड रुपैयाँमा एनहुई केयूएन हाइवे एन्ड ब्रिजले पाएको हो । २०७८ जेठ ३ गते भएको सम्झौताअनुसार सुरुमा २०८१ भदौ १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर सो अवधिमा काम नसकिएपछि म्याद थपिएको हो । पहिलोपटक १०१ दिन र दोस्रोपटक ३९० दिन म्याद थपिएसँगै अब काम सक्ने अन्तिम मिति २०८२ पुस १६ गते तोकिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker