अष्ट्रेलियाको ओलनगोङ आईपुग्दा तनहुँको बन्दीपुरको झलझली सम्झना

देव बस्न्यात

चौविसीकालीन तनहुँ राज्यको सैनिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको  बन्दीपुर नगरी नेपालको गण्डकी प्रदेशको तनहुँ जिल्लाको एउटा स्थानीय निकाय, रमणीय ऐतिहासिक नगरी र समग्र गण्डकी प्रदेशकै प्रमुख वाणिज्य केन्द्र पनि थियो र हाल पनि छ। तनहुँसुर, मिर्लुङकोट, चोककोट, पूर्काेट, बन्दीपुर, आँबुकोट, उपरदाङगढी, सिञ्च्याङगढी, प्याउलीगगढी, घण्टाचुली, चिसापानी गढी, परेवाकोट गढी र सोमेश्वरगढीहरु पनि सैनिक दृष्टिकोणले महत्वपूर्ण स्थलहरु थिए । नवोदित शक्तिशाली राज्य गोरखाको निकट रहेको कारण पनि बन्दीपुर तनहुँ राज्यको एक प्रमुख सैनिक सुरक्षा केन्द्रको रुपमा रहन गएको थियो ।
तनहुँका राजा कामारीदत्त सेनको समयमा पहाडमा तनहुँ र बन्दीपुर एवं  समथर भूभागमा तराईक्षेत्रमा चितौन र रामनगर समेतलाई प्रमुख प्रशासनिक केन्द्रको रुपमा विकास गरिएको थियो जस्मा रामनगर यस पूर्व पनि स्वतन्त्र राज्यको रुपमा स्थापित भएको थियो । रामनगरको राजखानदानमा निसन्तान हुन जाँदा तनहुँले अपुताली राज्य प्राप्त गरेको थियो । वि.सं. १८२८ देखि नै कहिले गोरखा अधिनस्थ कहिले स्वतन्त्र हुँदै धिकिर धिकिर आफ्नो अस्तित्व जोगाउँदै आएको तनहुँको मधेशखण्ड वि.सं. १८३६ मा, तनहुँको माथिल्लो पहाडी खण्ड वि.सं. १८३९ मा र तनहुँको बन्दीपुर खण्ड वि.सं. १८४१ मा नेपाल राज्यमा विलय हुन पुगेको थियो । तत्कालीन तनहुँ राज्य अहिले नेपाल र भारत दुई देशमा बाँडिन पुगेको छ भने नेपालका ७७ जिल्ला मध्ये तनहुँ, चितवन, नवलपुर र गोरखा समेत ४ जिल्लामा विभाजन हुन पुगेको छ। नेपाल एकीकरण पूर्वको तनहुँको बन्दीपुर खण्डमा शक्तिका देवी देवताहरुमा मुकुन्देश्वर महादेव, मुकुन्देश्वरी, मोहोरियाको निशान, खड्गदेवी, सन्तानेश्वर महादेव अशौबोटे, गढी, कोट, गोलडाँडामा अझै पनि पूजाआजाहरु हुँदै आएका छन् ।
संसारका सात महादेश मध्येको एउटा महादेश हो अष्ट्रेलिया । यो सिङ्गै एउटा राज्य पनि हो । यहाँका धारावाल/तारावाल/थरुवाल भाषी वादी वादी मूलका आदिवासीहरुलाई निर्मता पूर्वक दबाएर ब्रिटेनले आफ्नो उपनिवेश बनाएको ठाउँ पनि हो । यही अष्ट्रेलिया भित्र ओलोनगोङ् नामक एउटा सिटी पनि छ । पाल्पाका राजा मुकुन्दसेनको राज्यरोहण पश्चात र भक्तपुरे नेवारहरुको कारण चर्चित बन्न पुगेको बन्दीपुर नगरी जस्तै ब्रिटेनका नागरिकहरु जर्जबास, माथेउव फ्लिन्डर र विलियम मार्टिनहरुले सन १७१६ मा यस ठाउँलाई पत्ता लगाएका हुन् । आज यही ओलोनगोङ गाउँबाट सिटीको रुपमा बिकसित हुन पुगेको छ । नर्थ साउथ वेल्स प्रान्तको इलेबराको भिरालो युक्त तरेली परेको जमिन र समुन्द्रको बीचमा अबस्थित छ ।
सन १८१६ मा ग्रामिण विकासको रुपमा उदाएको ओलनगोङ सन १८४३ मा टाउनको रुपमा विकास हुन पुगेको, सन १८५९ मा नगरपालिका बनेको र सन १९४२ मा महानगरपालिका बन्न पुगेको जीवन्त ईतिहास छ । ओलोनगोङ धारावाल भाषाबाट बनेको मानिन्छ। जस्को अर्थ पाँचवटा टापु, कुहिरो तथा बादल, सामुन्द्र किनारको जमिन र समुन्द्री वायुको तेज आवाज भन्ने जनाउँछ । ओलनगोङ wuul an gong शब्द अपभ्रंश भई woolyungah हुँदै wollongong चिनिन पुगेको हो । हुन त ओलोनगोङको पुरानो नाम the gong हो । ओलोनगोङको एक लौकिक कथा अनुसार oola boola woo का मिमोशा, वील्गा, लिली, पिली, वाट्ले क्लोन्टिशा र गिरा समेत छ वटा छोरीहरु थिए । अशभ्य; जिद्दी र नटी स्भावका पाँच छोरीहरु समुन्द्रमा फेकिए । खेल्ने साथीको प्रतिक्षामा समुन्द्रतिर फर्केर दिदीहरुलाई कुरेर बसेकी गिरा लामो समय पछि शिलामा परिणत भईन । शिलामा परिणत हुने कान्छी छोरी गिरा (गिरिका?) हुन जस्लाई अहिले माउण्ट किरा भनेर चिनिन्छ । ओला बोला उ का तिनै पाँच छोरीहरुलाई (पाँचद्वीपको समुह) मत्स्यकन्याको रुपमा हेर्ने गरिन्छ ।
पहाडकी रानी बन्दीपुरमा नेपालकै प्रशिद्ध फलामखानी तथा सिसाखानीहरु रहेका थिए तर सरकारको अकर्मण्यताको कारण अहिले ती उद्योगहरु सञ्चालनमा आउन सकिरहेका छैनन्। अहिले बन्दीपुरमा फस्टाएको व्यवसाय भनेको पर्यटन व्यवसाय नै हो । ओलोनगोङ सिटी पनि यहाँको कोईलाखानी, स्टिलउद्योग, माछामार्ने व्यवसाय, माउण्टेन केम्बेला पोर्ट, खानेपानी संकलन गर्ने विशाल बाँधहरु, यहाँको ब्यापार व्यवसाय, हरेक टोलटोलमा रहेका पार्क, नान्तेन बौद्ध टेम्पल, सामुन्द्रिक किनार, किरापर्वतमाला र ईलेवरा ताल लगायतका प्राकृतिक दृष्यहरुका कारणले प्रसिद्धि पाएको छ । बन्दीपुरमा तालतलैया छैनन् तर स्थानीय गाउँपालिका टुँडिखेल र देक्ची डाँडाको बीचमा र भूमर्सेमा कृत्रिम ताल बनाउने रणनीति तयार गरी रहेको छ । अहिले आएर ओलोनगोङ सिटीले पनि पर्यापर्यटन विकासमा प्रशिद्धि कमाउँदै आईरहेको पाउँदछौं ।
पहाडकी रानी बन्दीपुर र अष्ट्रेलियाको ओलनगोङ बीच केही समनाताहरु भेटिन्छन। काठमाडौं पोखरा जोड्ने पृथ्वीराजमार्ग नबन्दासम्म गण्डकी प्रदेशकै प्रमुख वाणिज्य केन्द्र मानिने बन्दीपुर पृथ्वीराजमार्गको निर्माणसंगै तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौली सरेपछि पुरै मुर्झायो । हुनेखाने बन्दीपुरेहरु नारायणगढ पुगे भने अलिअलि हुनेखानेहरु डुम्रे र विमलनगर ओर्लिए । माल तथा अड्डाअदालतमा कामगर्ने केही बन्दीपुरे दमौली पुगे । यसरी मुर्झाएको बन्दीपुरलाई गैर आवासिय बन्दीपुरेहरु र आवाशीय बन्दीपुरेहरुमा पनि विशेष गरेर सरस्वती प्रधान, चिजकुमार श्रेष्ठ, नमस्तेलाल भूमि, सन्तकुमार श्रेष्ठ, मदन पिया, विमला श्रेष्ठ लगायतका शुभेच्छुकहरुले बन्दीपुरलाई पुनर्जीवन दिने सोच राखे । बन्दीपुरलाई ईको कल्चरल टुरिज्म (पर्यापर्यटन) क्षेत्र बनाउने प्रण गरे । बन्दीपुरको मूलबजारमा सवारी साधनको  आवत जावत रोक्ने अभियानको अभियान्ताहरु सरस्वती प्रधान, बलराम प्रधान र मथुरा प्रसाद प्रधानहरु हुन् ।
गा.वि.स. अध्यक्ष रविचन्द्र भटराईले यस विषयमा बन्दीपुर निवासीहरुको मिनी जनमत संग्रह गराए। जनताको र विभिन्न राजनैतिक पार्टीहरुको साथ पाएर बन्दीपुरको बजारले पुरानै रुपले ग्रहण गर्याे । मूल बजारमा रहेको ६०० मिटर लामो मूलसडकमा लालप्रसाद प्रधानले बागलुङबाट झिकाएका कालीगढको शिपको अनुकरण गरेर पुरै ढुङ्गा छापियो । अनि त बन्दीपुर पर्यापर्यटनका कारण पहाडकी रानी पर्यटनकी खानी बन्न गएको स्मरण हुन पुगेको छ । मूलबजारमा सवारीसाधनको रोकले बन्दीपुर धुवाँधुलो मुक्त बजार बन्यो र पर्यापर्यटनको बृद्धी दिन दुईगुना  र रात चारगुनाले हुँदै गयो । साँच्चै भन्ने हो भने प्राय मृतशहर बन्न पुगेको बन्दीपुरले मृतसञ्जिवनी बुटी पायो ।
अष्ट्रेलियाको ओलोनगनलाई शहरलाई बजारक्षेत्र र आवाशीय क्षेत्रमा विभाजित गरेर यहाँको बसाईलाई ब्यबस्थित गरिएको छ । परम्परागत र अग्ला आलिशान घरहहरुले ओलनगोङ सिंगारिएको छ भने राणा शासनको बेलामा बन्दीपुरमा चन्द्रगोपाल प्रधानले ३२ हजार मोहर खर्चेर साततले दरवार बनाउँदा ३०५ रुपैया जरिवाना तिर्नु परेको थियो । हरेक घरसम्म पुग्न यातायातको पहुँच भएको ओलोनगोङको प्रमुख शहरीक्षेत्रको मार्गमा ढुङ्गाहरु बिच्छाएर सवारी साधन प्रवेशलाई निषेध गरिएको पाईन्छ । सिडनीको प्रमुख शहरी केन्द्रमा पनि यस्तै भेटियो । प्रमुख स्थानहरुमा कोलाहल नहोस भन्ने अंग्रेजहरुको पुरानै शैली रहेछ भन्दा राम्रो होला ।
तनहुँका राजा हरकुमारदत्त सेनले बनाउन लगाएको मझौलाखालका दुईवटा तोपहरु बन्दीपुर ब्यारेकमा सुरक्षित थिए । तर ति तोपहरु अहिले कहाँछन त्यसको कुनै अभिलेख भेटिदैन । ओलनगोङ फ्ल्याग स्टाफ प्वाइन्ट लाईटहाउस नजिकको समुन्द्रकिनारमा रहेका तीन तीनवटा तोपहरुले  चौबिसीकालकर्न तनहुँ राज्यले नेपाली प्रविधिमा बनाएका तोपहरुको स्मरण गरायो । तनहुँसुरको गोलाभञ्ज्याङमा अव्यवस्थित रुपमा रहेको तोपको व्यवस्थापन र अभिलेखमा नभेटिएका बन्दीपुर सैनिक क्याम्प भित्रका दुईतोपहरुको खोजतलासमा जागरुक हुनु पर्ने याद गरायो ।
बन्दीपुरलाई पहाडकी रानी भनेर चिनाईन्छ। बन्दीपुरको टुंडीखेल १०५० मिटर यहाँको भञ्ज्याङ ११५० मिटर उचाईमा रहेको छ तर ओलनगोद्रो किरा (पभष्चब) पर्वत समुन्द्र सतहबाट ४६३.९ मिटर उचाईमा रहेको छ भने ओलनगोङको मूलबजार समुन्द्र सतहबाट ५ मिटर उचाईमा रहेको छ। छोरीहरुको दुव्र्यवहार बाट दिक्क भएका पिता ओला बोला उ द्वारा ओलेनगोङ नजिकैको पर्वतमालाबाट छ वटी छोरीहरु मध्ये पाँचवटी छोरीहरुलाई समुन्द्रमा हुत्याईए । अन्ततः यिनै पाँचछोरीहरुलाई अहिले मत्स्यकन्या उपनामले चिनाउने गरेको पाइन्छ ।
पूर्वीय दर्शन अनुसार चेदी देशका राजा उपरीचर वशुको रानीको नाम गिरिका हो । पितृ प्रसादको लागि सिकार गर्न गएका उपरीचर वशुको विर्य र ब्रह्माको सरापले माछी बनेर मादी नदीमा बिहार गरेकी अद्रिका अप्सराको रजको संयोगले मत्स्यकुमार र मत्स्यकुमारीको जन्म भएको कथा देवीभागवत बताउँछ । तिने राजा उपरिचर वशु र माछारुपि अद्रिकाको छोरी हुन् मत्स्योदरी (सत्यवती)। ऋषि पराशर, मत्स्यकन्या मत्स्योदरी र कुहिरो बीच अन्यानोश्रित सम्बन्ध रहेको छ। यिनै तिनको संयोगले पूर्वीय दर्शनका स्रष्टा चार वेद, अठार पुराणका संग्रहकर्ता तथा महाभारतका रचनाकार महर्षि वेदव्यासका आमा बन्न पुगेकी हुन् मत्स्योदरी । महर्षि वेदव्यासकी हजुरआमा अद्रिका अप्सरा दमौलीमा छाब्दी वाराहीमाताको नामले पुजित छन् । दमौली नजिकमा मानहुँडाँडाको उपस्थिति रहे झैं ओलनगङमा पनि गिरा पर्वतको उपस्थिति देखिन्छ । त्यही गिरा पर्वत ओलनगङका मत्स्यकन्याहरुको बहिनी नाताले सुपरिचित बन्न पुगेको लोकोक्ति पाउँदछौ जस्लाई अहिले किरा पर्वतको नामले चिनिन्छ। ओलोनगङमा मत्स्यदेवीको मन्दिर नभएता पनि नानतेनमा बौद्ध मन्दिर र मिन्लेमा शिव पाञ्चायन मन्दिरहरु रहेका छन् ।
नेपाल भूपरीवेष्टित मुलुक भएकोले बन्दीपुरमा पानी जहाज चल्ने कुरै भएन । बन्दीपुरमा एयरपोर्ट नभएता पनि गोरखा जिल्लामा रहेको पालुङटार एयरपोर्ट प्रयोग गर्न सकिन्थ्यो, त्यो एयरपोर्ट पनि आजकल बन्द भईसकेको छ। बन्दीपुर पुग्ने एउटै मात्र सरल र सहज मार्ग भनेको बन्दीपुर–डुम्रे सडक हो तर अहिले बन्दीपुर केवलकारको उपयोग गर्न सकिन्छ। बन्दीपुर दमौली ऐतिहासिक हुलाकी मार्ग ओझेलमा परेको छ । बन्दीपुर धरम्पानी, बन्दीपुर हिलेखर्क मार्ग अझै पनि कच्ची छन् । घुमाउनेघाटको पुल नबन्दा नारायणगढ जाने छोटो दुरीको मार्गले गति लिन सकेको छैन ।
नेपालको राजधानी  काठमाडौंबाट बन्दीपुर आईपुग्न १४० कि.मि., गणडकी प्रदेशको राजधानी पोखराबाट बन्दीपुर आईपुग्न ७६ कि.मि. र तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट सवारी साधनबाट २६ कि.मि.को यात्रा गरेर सजिलै पुग्न सकिन्छ भने डुम्रेबाट १ घण्टा पैदलै हिंडेर  पनि बन्दीपुर पुग्न सकिन्छ । यता अष्ट्रेलिया समुन्द्र वेष्टित देश हो। त्यही भएर पानी जहाज तथा डुङ्गाहरुबाट ओलनगोङ सजिलै आउजाउ गर्न सकिन्छ । यहाँ सिड्नी र क्यानेबेराका लागि रेलमार्गहरु पनि उपलब्ध छन् । साउथ अफ सिडनीबाट नीजि तथा सार्वजनिक साधनबाट ८० कि.मि. सडक यात्रा गरेर १ घण्टामा सजिलै ओलनगोङ आईपुग्न सकिन्छ भने हवाई जहाजको यात्रा गर्न भने सिडनी नै पुग्नु पर्दछ। असमानताहरुका बीच पनि यी दुई नगरीका बीच धेरै समानताहरु रहेका छन् । यही परिवेशमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले “घुम्न जाउँ बन्दीपुर” अभियानको सुरुआत गरेर बन्दीपुरलाई पर्यटन नगरी बनाउन मरीमेटेका छन् ।
अन्ततः ओलनगोङ र बन्दीपुर नगरी बीच भगिनी सम्वन्ध कायम हुन पुगेमा एक आपसमा धेरै कुराहरु शेयर गरेर आ–आफ्ना आत्मिक, साँस्कृतिक र भौतिक विकासमा सहयोग आदनप्रदान सकिने पूर्वाधारहरु अझै पनि विद्यामान रहेको पाउँदछौ । अन्त्यमा बन्दीपुर र ओलनगोङ दुबैको मितेरी समबन्ध गाढा बनोस । हाम्रो पनि यही शुभेच्छा छ । अस्तु ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker