मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे बाँकी

पृथ्वी राजमार्गको आँबुखैरेनी-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको सडक विस्तार आयोजनाले जनाएको छ ।

एकतर्फी कालोपत्रे गर्न ३ किलोमिटर मात्रै बाँकी रहेको मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । बाँकी सडक कालोपत्रे गर्ने काम चालु आवमा नै सकिने उनले बताए ।

पूर्वी खण्डको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म ४१.४५ किलोमिटर लामो पूर्वी खण्डको ३८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

इन्जिनियर पाण्डेका अनुसार दमौली क्षेत्रमा डेढ किलोमिटर, डुम्रे बजार नजिकै ३ सय मिटर र बिमलनगर नजिकै ७ सय मिटर जति सडक मात्रै कालोपत्रे हुन बाँकी छ । अरु सबैतिर पिचको काम सकिएको उनले जानकारी दिए ।

तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । चैतको अन्तिम र वैशाखमा परेको पानीले केही दिन काममा डिस्टर्ब भए पनि अहिले भने कामले गति लिएको छ ।

पूर्वी खण्डको तेस्रोपटक थपिएको म्याद आगामी असार २९ गतेसम्म छ । सो म्यादभित्र सडक विस्तारको काम सकेर सडक सुरक्षाका बाँकी काम गरिने इन्जिनियर पाण्डेले बताए ।

पूर्वी खण्डमा निर्माणधीन मादी नदी बाहेकका १७ वटा पुल सबै तयार भइसकेका छन् । चालु आर्थिक वर्ष लागेसँगै तीव्र गतिमा सडक विस्तारको काम थालिएको सडक आयोजनाका इन्जिनियर पाण्डेले बताए ।

तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म सो पुलको ७० प्रतिशत काम पूरा भएको छ । पुलको फाउन्डेसन सबै सकिएको छ । तीनवटा बिम स्ल्यापको काम सम्पन्न भएको र एउटाको काम भइरहेको छ । ६ वटा स्ल्यापमध्ये चारवटा चालु आर्थिक वर्षभित्र सकिने इन्जिनियर पाण्डेले जानकारी दिए ।

एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेनको सडक विस्तार गरी चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार भइरहेको छ ।

वैशाख २०८१ सम्म काम सक्ने लक्ष्य राखेर चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको समय अवधिमा काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ ।

आयोजनाको पश्चिमी खण्ड जामुने-पोखरा सडक विस्तारका लागि ३ जेठ २०७८ मा चीनकै एनहुई केयूएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा (सेती पुल बाहेक) ठेक्का सम्झौता गरेको थियो । ३८.८८ किलोमिटर दूरी रहेको पश्चिमी खण्डको करिब ५२ प्रतिशत भौतिक प्रगति भएको पश्चिम खण्डले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker