अमेरिकी विविधता र जन-आकर्षण
- ध्रुवराज पौडेल


संयुक्त राज्य अमेरिका विकास र समृद्धिका लागि मात्र होइन विविधताका लागि पनि प्रख्यात छ । सन् २०२५ को तथ्याङ्क अनुसार ३४ करोड जनसंख्या रहेको अमेरिका क्षेत्रफल र जनसंख्या दुबै हिसाबले विश्वको तेस्रो ठूलो मुलुक हो । कूल ५० राज्यमा विभाजित अमेरिका उत्तरी गोलार्द्धमा रहेको छ । समग्रमा पश्चिमी संसारको मूल नेतृत्व अमेरिकाले नै गर्दछ यद्यपि क्यानडा र युरोपले पनि पश्चिमाहरुको प्रतिनिधित्व गरिरहेका छन् । अमेरिकालाई भौगोलिक¸ जातीय¸ धार्मिक¸ भाषिक¸ सामाजिक एवं साँस्कृतिक हिसाबले पनि विविधतायुक्त देशको रुपमा लिन सकिन्छ ।
भौगोलिक हिसाबले पनि अमेरिका विविधतायुक्त देखिन्छ । यहाँ पूर्वतर्फ विशाल आन्ध्र महासागर र पश्चिम दिशामा प्रशान्त महासागरले सामुन्द्रिक यातायात तथा पारवहनलाई सहज बनाएको छ । समग्र उत्तरी अमेरिकाको पश्चिम प्रशान्त महासगरीय तटीय क्षेत्रमा उत्तर दक्षिण फैलिएको रकि पर्वत श्रृङ्खला अन्तर्गत रहेको २०३१० फिटको (६१९० मिटर) माउण्ट माकिन्लेदेखि लिएर समुन्द्र सतहभन्दा २८२ फिट गहिरो क्यालिफोर्नियाको डेथ भ्यालीसम्म यहीं रहेको छ ।
धरातलीय स्वरुप हेर्दा यहाँ हिमाल¸ पहाड¸ तराइ¸ उपत्यका¸ उच्च समस्थली¸ सामुन्द्रिक तट आदिको समिश्रण पाइन्छ । तापान्तरको कुरा गर्दा यहाँ गर्मी मौसममा १३४ डिग्री फरेनाइट (५६.७ डिग्री सेल्सियस तापक्रम डेथ भ्याली क्यालिफोर्नियामा रहेको छ भने अलास्काको क्रिक उपत्यकामा −८० डिग्री फरेनाइट (−६२.२ डिग्री सेल्सियस) पनि यहिँ पाइन्छ ।त्यसैगरी यहाँ वार्षिक वर्षाको मात्रामा पनि विविधता पाइन्छ । यहाँ अधिकतम वर्षा वार्षिक ११६८४ मिलिमिटर हवाइ द्विपमा हुन्छ भने न्युनतम् ५०.८ मिलिमिटर वर्षा मृत्य उपत्यका (Death Valley) मा हुन्छ ।
यहाँको कूल भुभागको ३३ प्रतिशत जङ्गलले ढाकेको छ भने कृषियोग्य भूमि ३९ प्रतिशत रहेको छ । देशमा ७९ प्रतिशत साक्षरता रहेको अमेरिकामा यहाँको उच्च शिक्षा एवं विश्वविद्यालयहरु विश्वकै उत्कृष्ट मानिन्छन् । यहाँ Harvard, Stanford, Massachusetts Institute of Technology- MIT, Yale, Princeton, Columbia, California Institute of Technology, University of California Berkeley, University of Chicago, University of Pennsylvania जस्ता विश्व प्रख्यात विश्वविद्यालयहरु छन् जहाँ विश्वभरका लाखौं विद्यार्थी अध्ययनरत छन् ।
अमेरिका पूर्ण लोकतान्त्रिक मुलुक तथा आधुनिक र समृद्ध देश भएतापनि यहाँ गोरा र काला जातीहरु बीचको विभेद कायमै रहेको देख्न सकिन्छ ।कानूनी हिसाबले सबै जातजाती समुदाय समान भएपनि व्यवहारमा पूर्णरुपमा समानुभुति हुन सकेको छैन । यहाँ कूल जनसंख्याको ६१.६ प्रतिशत गोरा जाती (ककेशियन)¸ १४.४ प्रतिशत काला जाती (निग्रो) र बाँकी जनता आर्यन तथा मंगोलहरु रहेका छन् । अमेरिकामा कूल जनसंख्याको १५ प्रतिशत विभिन्न बाह्य मुलुकबाट बसाइ सरेर आएका (Migrant people) रहेका छन् भने केही लाल भारतीय (Red Indian) लगायतका आदिवासी जनजातीहरु पनि रहेका छन् ।यहाँ बहुधार्मिक नागरिकहरु बसोबास गर्दछन् ।
कूल जनसंख्याको ६२ प्रतिशत क्रिश्चियन¸ २ प्रतिशत यहुदी¸ १ प्रतिशत हिन्दु¸ १ प्रतिशत मुस्लिम¸ १ प्रतिशत बुद्धिष्ट¸ ७ प्रतिशत अन्य र धर्म नखुलेका जनताहरु २६ प्रतिशत रहेका छन् । अमेरिकाको सरकारी कामकाजको भाषा अंग्रेजी हो जुन ९१ प्रतिशतले बोल्छन् भने दोस्रो भाषा स्पेनिश हो जुन ९ प्रतिशत (४ करोड) व्यक्तिले बोल्ने गर्दछन् ।हाल अमेरिकाका चारवटा राज्यहरु टेक्सास न्यूमेक्सिको एरिजोना र क्यालीफोर्निया राज्यहरु मेक्सिकोसँग सिमा जोडिएका छन् ।अमेरिकाको दक्षिणी छिमेकी राष्ट्र मेक्सिको र अमेरिका बीचको युद्ध पछि सन् १८४८ फेव्रुअरी २ मा भएको सन्धीबाट मक्सिकोले आफ्नो ५५ प्रतिशत भूभाग गुमाउन पुग्यो र उक्त भूभाग अमेरिकाले क्याप्चर गर्यो जसमा क्यालीफोर्निया¸ नेवादा¸ उताह¸ न्यूमेक्सिको¸ एरिजोना¸ कोलोराडो र ओक्लोहामा¸ कन्सास र विमिङ् राज्यका केही भूभागहरु पर्दछन् । यसकारण हिजोका मेक्सिकन नागरिकहरु समेत अमेरिकामा गाभिएको र त्यहाँ बस्ने स्पेनिशभाषी नागरिकहरुका कारण अमेरिकामा दोस्रो ठूलो भाषा स्पेनिश रहेको हो ।
अमेरिकामा मिसिसिपी¸ मिसौरी र कोलोराडो जस्ता ठूला नदीहरु रहेका छन् भने विश्वकै स्वच्छ पानीको ताल सुपेरियर ताल पनि अमेरिका र क्यानडाको सिमानामा अवस्थित छ ।त्यसैगरी मिचिगन¸ हुरोन¸ एरी र ओन्टारियो जस्ता वृहत तालहरु पनि अमेरिकामा रहेका छन् । अमेरिकाको मुख्य उत्पादनमा Chemical Manufacturing, Food beverage, Tobacco, Dairy, Poultry, Cotton, Sorghum, Barley and Rice रहेका छन् । अमेरिकाले निर्यात गर्ने कृषि उत्पादनमा Corn, Soybeans, Wheat, Cattle आदि पर्दछन् । अन्य निर्यातमा युद्धका सामग्री¸ मेशिनरी र सोका पाटपुर्जाहरु पर्दछन् ।
संघीय गणतन्त्रात्मक मुलुक जहाँ जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहने व्यवस्था छ ।यहाँ दुई सदनात्मक संसद छ । तल्लो सदनलाई प्रतिनिधिसभा (House of Representatives) र माथिल्लो सभा सिनेट (Senate) हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक भएकोले यहाँ अवसरहरु पनि पर्याप्त रहेका छन् । यहाँ विशेष गरी सूचना प्रविधि¸ स्वास्थ्य र वित्त क्षेत्रमा रोजगारीका अवसरहरु पर्याप्त रहेको मानिन्छ । सन् १७७६ जुलाइ ४ अघि संयुक्त राज्य अमेरिका बेलायतको उपनिवेश रहेको थियो । अमेरिकीहरु जुलाइ ४ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्छन् र जुन दिन देशभरी सार्वजनिक बिदा दिने चलन रहेछ ।अमेरिकामा विशेषत: विविधता (Diversities), नवप्रवर्तन (Innovations) र साँस्कृतिक प्रभाव (Cultural influences) का कारणले विश्वभरका व्यक्तिको आकर्षण बढ्दै गइरहेको पाइन्छ । विश्वभरका जनताको अमेरिकामा आकर्षण बढ्नुका केही थप कारणहरु यसप्रकार रहेका छन्:
क) रोजगारीको राम्रो संभावना (A good job market): अमेरिकामा काम गर्न चाहनेहरुका लागि पर्याप्त अवसरहरु उपलब्ध छन् । केही गरौं भन्ने इच्छाशक्ति भएका व्यक्तिका लागि रोजगारीको अभावमा भौंतारिएर हिंड्नुपर्दैन । यहाँ हरेक श्रम (काम)लाई सम्मान गर्ने संस्कार छ । काम कहिल्यै पनि ठूलो वा सानो हुँदैन तर बेरोजगार हुनु भनेको सबैको हेयको पात्र बन्नु र वैयक्तिक अवनतिको शुरुवात हो ।
ख) धान्न सकिने जीवनशैली (Affortable lifestyle) : हरेक व्यक्तिको वैयक्तिक वित्तीय अनुशासन कायम गरेका¸ राज्यको नीति नियम मानेका र आर्थिक कारोवारमा इमान्दारिता प्रदर्शन गरेका हरेक व्यक्तिलाई राज्यले पत्याउँछ । पढ्न¸ तालिम लिन¸ घर किन्न¸ गाडी किन्न¸ व्यवसाय गर्न¸ व्यवसाय विस्तार गर्न आदि कामका लागि आफ्नो आय स्रोत र सामर्थ्य अनुसार विना धितो तोकिए बमोजिमको सुलभ कर्जा उपलब्ध हुने व्यवस्था राज्यले गरेको छ ।यसका लागि इमान्दारितापूर्वक साँबा व्याज भुक्तानि गर्नु र तोकिएको बमोजिमको राज्यलाई कर तिर्नु जरुरी छ ।
ग) आयमा समानता र कर प्रणाली (Income equality and taxation system) अमेरिकामा प्रगतिशिल कर प्रणाली लागु छ जुन हुनेखाने सम्पन्नबाट उठाएर विपन्न र गरीब वर्गलाई निशुल्क सेवा प्रदान गरिन्छ ।यहाँ कर तिर्नु अनिवार्य मानिन्छ र कसैबाट पनि कर छल्ने संभावना हुँदैन । व्यक्तिले तिरेको करको आधारमा भविष्यमा राज्यले नै Social security मा विशेष सुविधा दिएको हुन्छ ।चाहे निजी काम होस वा सरकारी व्यक्तिले तिरेको सबै करको विवरण एकीकृत रुपमा अभिलेख रहन्छ । सबैको सामाजिक सुरक्षा नम्बर एउटै हुन्छ र बैंक खाता पनि । प्रत्येकको आय व्ययको विवरण अद्यावधिक हुन्छ र हुनुपर्छ ।सबै जनतामा विश्वास छ कि आँफूले तिरेको कर खेर जाँदैन । जति धेरै राज्यलाई कर तिर्यो उति धेरै भविष्य सुरक्षित भन्ने विश्वास सबैमा छ ।
घ) राजनीतिक स्थायित्व (Political stability) : अमेरिकामा अन्य देशको तुलनामा राजनीतिक स्थिरता देखिन्छ जहाँ बहुदलीय व्यवस्था रहेपनि व्यवहारत दुईपार्टी पद्धति (Two Party System) विद्यमान छ Republican Party र Democrative Party । राजनीतिक स्थायित्वका कारण हरेक नीति¸ योजना¸ विकास निर्माण¸ अर्थनीति¸ परराष्ट्र नीति तथा समग्र राष्ट्रिय प्राथमकिताहरु सहि दिशानिर्देश हुने संभावना रहन्छ र राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा पनि सकारात्मक प्रभाव पर्न गई विश्वासको वातावरण सिर्जना हुन्छ ।प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पदावधि ४ वर्षको हुन्छ जुन दुईपटक मात्र राष्ट्रपति हुन पाउने व्यवस्था छ ।
ङ) विश्वको सर्वशक्तिमान राष्ट्र (Super power nation in the world) आर्थिक¸ सामरिक र संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय संस्थाहरु माथिको प्रभावको हिसाबले अमेरिकालाई विश्वकै सर्वशक्तिमान राष्ट्रको रुपमा लिइन्छ ।यसका कारण यहाँ बस्ने प्रत्येक नागरिकले राष्ट्र प्रति गर्व गर्छन् कि हामी सुपरपावर देशका नागरिक हौं भनेर ।अमेरिकाको इतिहास हेर्दा उसले लडेका युद्धहरुमा भियतनाम लगायत केही अपवाद बाहेक सबै लडाइमा विजय हासिल गरेको गौरवपूर्ण इतिहास रहेछ । उनीहरु यो ऐतिहासिक विरासत कायमै राख्न चाहन्छन् ।यसर्थ पनि मानिसहरु अमेरिकी नागरिक बन्न लालायित छन् ।
च) सुरक्षाको प्रत्याभूति (Ensure of Safe life) संसार नै वास्तवमा शक्तिको पुजारी हो ।जसको शक्ति उसको भक्ति भनेझैं शक्तिलाई सबैले मान्छन् । यसकारण अमेरिकालाई शक्ति र प्रभावको कारण धेरै राष्ट्रहरु नतमस्तक भएर अमेरिकालाई समर्थन गर्नेहरु धेरै छन् । विश्व महाशक्तिको छत्रछायाँमा बसियो भने सुरक्षित पनि भइन्छ भन्ने मान्यताले पनि काम गरेको हो कि …….! अमरिकीहरुको मूल मान्यता छ कि The America First ….! अत: सुरक्षित जीवनयापनका लागि पनि अमेरिका बस्ने व्यक्तिको चाहना बढी छ ।
छ) शैक्षिक प्रणाली र भविष्य (Educational system and future) अमेरिकामा विश्व प्रख्यात विश्वविद्यालयहरु रहेका छन् जसका कारण उच्च शिक्षा¸ राम्रो अवसर र सुनौलो भविष्यका लागि विश्वभरका लाखौं विद्यार्थीहरु अध्ययन गर्न अमेरिका आइरहेका छन् र पढाइ सकेर करीब ९० प्रतिशत विद्यार्थीहरु यहीं रोजगार प्राप्त गरी सम्पन्न जीवनशैली बाँचिरहेका छन् । एकवारको जीन्दगीमा राम्रो पढौं¸ राम्रो अवसर प्राप्त गरौं र सम्पन्न एवं विलासी जीवनशैलीमा बाँचौं भन्ने मान्यता प्राय: सबैमा हुन्छ नै । यसकारण पनि अमेरिका यसका लागि सुनौलो अवसर हो भन्ने मान्यता आम समुदायमा छ ।
ज) सपना साकार (To achieve the dream) अहिले विश्वका अधिकांश देशका जनताको लागि सपनाको संसार भनेको अमेरिका बनेको छ यद्यपि मान्छेले चाहेजस्तो वा सोचेजस्तो यहाँ सबैथोक नहोला तथापि यो मान्यता छ ।सपनाको संसारमा पुग्ने, यही पढ्ने, सम्पन्न देशको नागरिक बन्ने, आधुनिक सूचना प्रविधिसँग रमाउने र विलासी जीवनशैलीमा बाँच्ने इच्छालाई सकार पार्न पनि अमेरिका आउन मान्छेहरु मरिहत्ये गरेको देखिन्छ । नेपालबाट पनि अमेरिका आउने व्यक्तिहरु EDV परेर वा भिजिट भिसामा वा विद्यार्थी भिसामा वा तल्लो बाटोबाट आउने जोकोहि पनि नेपालीहरुको मूल ध्येय भनेको अमेरिका प्रवेश गर्ने यहाँको नागरिक बन्ने र यहिँ बस्ने भन्ने रहेको हुन्छ । यसकारण नेपाली मात्र होइन¸ संसारका अधिकांश व्यक्तिको सपनाको संसार अमेरिका भएको हुँदा यहाँको आकर्षण बढ्दो क्रममा रहेको छ ।
झ) देशहरुको गरिबी¸ पछौटेपन¸ वेथिति र गृहयुद्धको असर (Due to poverty, backwardness, bad governance and effect of civil war) : विश्वभर रहेको गरिबी¸ पछौटेपन¸ बेथिति र गृहयुद्धको कारण मानिसहरु सुरक्षित र सम्पन्नताका लागि लालायित हुन्छन् । यस्तो अवस्थाबाट कसरी मुक्ति पाउने होला¸ कसरी सम्पन्नता¸ शान्ति र सुशासनको अवसर लिने होला भनेर पर्खाइमा बसिरहेका समुहलाई एउटा उपयुक्त अवसर अमेरिका हो भन्ने आम मान्यता र बुझाइ रहेको छ । कम्तिमा रोजगारीमा लागेर २ पैसा कमाएर आँफू र परिवारलाई सुख र खुशीसँग राख्न पाए कस्तो हुनेथियो भन्ने सपना आम जनमानसमा हुन्छ नै । यसका लागि उनीहरुको प्रथम रोजाइ भनेको अमेरिका भैरहेको छ ।
यसरी अमेरिकाको विविधता¸ सम्पन्नता¸ महाशक्तिको रुपमा स्थापित देश र अवसरहरुको प्रचुर संभावनाहरुलाई मध्यनजर गर्दै विश्वका धेरै देशका नागरिकहरुका लागि संयुक्त राज्य अमेरिका पहिलो आकर्षक गन्तव्य बन्न पुगेको देखिन्छ । अमेरिकी आप्रवासन सम्बन्धी पछिल्ला नीति र व्यवहार हेर्दा गैरकानून हिसाबले अमेरिका प्रवेश गर्ने व्यक्तिहरुका लागि अव कठीन हुने देखिएको छ ।
अमेरिका आउन चाहने व्यक्तिहरुले स्वाभाविक र औपचारिक एवं कानूनी मार्गबाटै आएको खण्डमा अवसर र भविष्य दुबै सुरक्षित हुन्छ अन्यथा अमेरिका गई सम्पन्न सुखी र सभ्रान्त जीवनशैली अपनाउछु भन्ने सपना कहिल्यै पुरा हुनेछैन । गलत तरिकाले अबैधानिक तवरले लाखौं रकम एजेन्टहरुलाई खुवाएर अमेरिका आउन फाइदा छैन र सुरक्षित पनि हुन सकिदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । संभव भएसम्म आफ्नै देशमा बस्ने अवसर र संभावनाको खोजी गर्ने¸ व्यवसायिक¸ स्वरोजगार र आत्मनिर्भर बन्ने प्रयास गर्नु नै श्रेयस्कर ठहर्छ ।
युवाहरुको विदेश पलायनबाट कुनैपनि मुलुक समृद्ध बन्न सक्दैन । यसकारण सरकारले पनि आफ्ना नागरिक एवं युवा जनशक्तिलाई देशमै रोजगारी दिएर राख्न सक्नुपर्दछ ।यसका लागि सबैभन्दा पहिला शिक्षामा लगानी बढाउनुपर्छ ।शिक्षाको उत्पादन स्वरोजगारमुखी¸ व्यवसायिक र देशको माटोले माग गरेबमोजिमको काविल हुनु नितान्त जरुरी छ ।अव नेपालले आफ्ना नागरिकलाई अमेरिका पठाउने भन्दा पनि अमेरिकामा उपलब्ध हुने खालको गुणस्तरी र व्यवहारिक शिक्षा तथा रोजगारीका अवसरहरु नेपालमै उपलब्ध गराउने वातावरण निर्माण गरेको खण्डमा पक्कैपनि युवाहरुको वैदेशिक पलायन स्वाभाविक रुपमा न्यून हुँदै जानेछ ।यसतर्फ नेपाल सरकारको ध्यान जानु जरुरी देखिन्छ ।धन्यवाद ।
(लेखक तनहुँको भानु नगरपालिकाका शिक्षा अधिकारी हुन, हाल Fayatteville, Cumerland County, North Carolina U.S.A. मा छन्)










