प्राकृतिक सौन्दर्य, पर्यटन र लमजुङको इतिहास
के.बि मसाल

बिदेशि मात्र होइन नेपालीहरुमा पनि घुम्ने सस्कृतिको बिकास भएको छ । पर्यटन बिकासको लागि घुम्ने सस्कृतिको बिकासलाई सकारत्मक सन्देश मान्नु पर्दछ । घुम्नु अर्थात घुमफिर गर्नु भनेको नदेखेको ठाउँमा जानु हो । घुमफिर गर्ने पर्यटकहरुका लागि पर्यटनमा धेरै बिटहरु छन । प्राकृतिक सम्पदा, ऐतिहासिक मठ मन्दिर,ताल तलैया, बिभिन्न जातीहरुको सस्कृति मात्र होइन पदयात्रामा रमाउने पनि पर्यटनको बिट हुन्छ । नेपालमा प्राय सबै जिल्लाहरुमा पर्यटनको लागि यस किसीमका सम्पदाहरु छन् । तर पनि पर्यटनकाने लागि लमजुङको छुट्टै महत्व रहेको छ ।
पर्यटनको पुर्वाधार थपिदै गएपछि लमजुङ जिल्लामा घुमफिर लागि धेरै पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । प्रकृति र संस्कृतिसंग रमाउन खोज्ने पर्यटकहरु आफ्नो घुमफिरको प्याकेजनै बनाएर आजभोली लमजुङ पुग्दछन । लमजुङमा घुमफिर गर्दा अधिकाशं डाँडाकाँडाका गाउँबाट हिमाल देखिन्छरु । घुमफिर गर्दा पर्यटकहरुले एउटा गाउँबाट अर्को गाउँको पनि अवलोकन गर्न सक्दछन् । गाउँमा होमस्टेको बासमा पाइने अर्गानिक परिकार, न्यानो आतिथ्यता, स्थानीय संस्कृति, प्राकृतिक मनोरम दृष्यले पर्यटकहरु रमाउछन् पर्यटकहरुले प्राकृतिक सम्पदा, इतिहास र सस्कृतिका बारेमा अध्ययन अवलोकन गर्न सक्दछन । लमजुङको घलेगाउँ, भुजुङ मात्र होइन दर्जनौ गाउँका सन्चालनमा आएका होमस्टेले पर्यटकहरुलाई गाउँमा पुग्दाखाना बस्नको लागि असुबिधा हुदैन । गाउँमा पुग्ने पर्यटकहरु मगर, गुरुङ र तमाङ जातीको जीवनशैली, कला, संस्कृति र गाउँबाटनै देखिने हिम श्रृखलाले पर्यटकहरु लोभिन्छन् । शान्त वातावरण र दर्जनौँ मनोरम हिमश्रृंखलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा पर्यटकहरुले शब्दमा बर्णन गर्नैर् नसक्ने अनुभव र अनुभूती गर्दछन । लमजुङमा घुमफिर गर्दा कतिपय पर्यटकहरुले ऐतिहासिक सम्पदाको खोज अनुसन्धानमा समय बिताउछन् ।
मानिस स्वभावले नै जिज्ञासु र घुमन्ते प्राणी हो । उसले घुमफिर अनि अवलोकनबाट नै नयाँकुरा जान्दछ । गण्डकी प्रदेश सरकारले लमजुङको घलेगाउँ, यशोब्रहृम शाहको लमजुङ दरबार, भुजुङ, राइनासकोट, घनपोखरा, सिउरुङ, काउलेपानी, इलमपोखरी, इशानेश्वर र दूधपोखरीलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छरु । पछिल्लो समय खासुर, ताघ्रिङ, पसगाउँ, हिलेटक्सार, तार्कुगहते, पुरानकोट, तुर्लुङकोट, नरुवल मगरगाउँ, भुस्मे लगायत गाउँहरुमा पर्यटक पुग्ने गरेका छन् । लमजुङ आदिमकाल देखिनै गुरुङ जातिहरुको थलो हो । लमजुङका धेरै गाउँठाउहरु को नाम गुरुङ भाषामा रहेको छ । पछिल्लो समय एउटा गाउँपालिकाको नामनै गुरुङ भाषा अर्थात क्व्होलासोथार रहेको छ । क्व्होलासोथारको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । लमजुङ जिल्लाको नाम पनि गुरुङ भाषामा जोडिएको छ । गुरुङ भाषामा लाम भनेको लामा र जुम भनेको गुफा भन्ने हुन्छ । गुरुङ जातीको पुजारी लामाहरु बिशेष अध्यनको लागि गुफामा बस्ने भएको हुदा तिनै लामालाई संकेत गरी लमजुम भन्दा भन्दै बोल्ने क्रममा लमजुङ भएको हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँघरमा परम्परागत मौलिक घर, अनि जैविक, वातावरणीय तथा कला, संस्कृति, भेषभूषा, धर्म, परम्परा र रितिरिवाज जस्ता अनेकौं पक्षको विविधताले लमजुङ जिल्ला अत्यन्तै रमणीय छ । गुरुङ जातिको बाहुल्य रहेको लमजुङमा देशकै संस्कृति जोगाउने रितिरिवाज र परम्परा अत्यधिक पाउन सकिन्छ । नेपालको मौलिक संस्कृतिमध्ये दोहोरी गीतको उदगमस्थलको रुपमा लमजुङलाई लिने गरिन्छ । भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङको सांस्कृतिक र सांगीतिक क्षेत्रलाई थप उच्चो बनाएको छ । लमजुङको अग्ला लेकाली डाँडाकाँडामा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि वसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरुले आफ्नो भाषा संस्कृति, रहनसहन तथा सामाजिक, आर्थीक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएका छन् ।
अन्नपूर्ण पदयात्रा सदरमुकाम बेसीसहरबाट सुरु हुन्छ । लमजुङमा दूधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, इलमपोखरी जस्ता मनमोहक ताल र पोखरीले पर्यटकहरुलाई आकर्षण गराएको छ । बेशिसहरमा रहेको तमु संग्रहालय र त्यहाँ स्थापना गरिएको स्व. हर्क गुरुङको प्रतिमाले पनि पर्यटकहरुलाई अध्ययन अवलोकन गर्ने थलो भएको छ । बाहुनडँाडा र ताघ्रिङको जगतमा रहेको तातोपानी पनि पर्यटनको आकर्षा केन्द्र बनेका छ । बेशिसहरबाट सुरु भई, उत्तरकन्या, घनपोखरा, भुजुङ, पसगाउँ हुँदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्गले पर्यटकहरुको सख्या बढेको छ ।
लमजुङ पुग्ने पर्यटकहरुलाई अध्यन अनुसन्धानको लागि महत्वपूर्ण मानिने आदीबासी गुरुङ समुदायको बस्ती घलेगाउ घनपोखरा, सिउरुङ, भुजुङ, खासुर, पसगाउ गिलुङ, गौंडा, हिलेटक्सार, दुवार, टापा, बंसार, लप्सीबोट, सिमी, ताजे, कर्दी, किर्तीपुर, फुलुङगिरी, घुम्लीचौर, तस्यो जस्ता अति रमणीय गाउँहरु रहेका छन । लमजुङ मरर्स्याङदी पूर्वपट्टी रहेका गुरुङबस्तीहरु चारथर, नौथर र वाह्रथरमा विभाजन भएको छ । गाउँ र बस्तीको भूगोल बिभाजन भएजस्तै उनिहरुको भाषाको शब्द र उच्चारण स्वर पनि फरक रहेको पाइन्छ । लमजुङको गाउँशहर कालिका, करापुटारको इशानेश्वर महादेव, बेशिसहरको कर्पुरेश्वर महादेव, उदिपुरको अकला र कालिका मन्दिर, बेशिसहर बजारको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिर, सिन्दुरेमा रहेको तुर्लुङ कालिका, नेटाको मालिका मन्दिर, उत्तरकन्याको उत्तरकन्या मन्दिर र चण्डीडाँडामा रहेको हृयुलसोहृयु गुम्बा लगायत दर्जनौं स्थान लमजुङ जादा तीर्थाटन पर्यटकहरुका लागि पुग्न पर्ने ठाउँहरु हुन ।
पछिल्लो समस्य लमजुङ होमस्टेको हब बन्दै गएको छ । लमजुङका सबैजसो स्थानीय तहमा होमस्टे सन्चालनमा आएका छन् । काउलेपानी होमस्टे नजिकैको दलित बस्तीमा दलित संग्राहलय खोलिएको छ । राइनासकोटमा गुरुङ जातिको संग्राहलय छ । भुष्मे होमस्टेमा तामाङ र तर्ुलुङकोट होमस्टेमा दुरा संग्राहलय बनाइएको छ । संग्राहलयमा आ-आफ्ना जातिको पहिचान, संस्कार र संस्कृति झल्किने सामाग्री राखिएका छन् । गाउँहरुमा निर्माण गरिएका संग्रहालयले विभिन्न जातजातिका संस्कार, सस्कृति, वेशभूषा र भाषाबारे अध्ययन गर्न पर्यटकहरुलाई सहज भएको छ । गाउँ-गाउँमा सन्चालनमा आएका होमस्टेमा स्वदेशीदेखि विदेशी पर्यटक पुग्ने गरेका छन् । पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएका संग्राहलयमा स्थानीय कला संस्कृतिसँगै आ-आफ्नो जातीय संस्कार अन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग हुने सामग्रीहरु राखिएका छन् । राइनासकोट पछिल्लो समय लमजुङ जादा धेरै पर्यटकहरु राइनासकोट पुग्ने गर्दछन । राइनासकोटमा १५औं शताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाहको इतिहास छ । राइनासकोट भन्दा पारीपट्टी अर्थात पूर्वतिर गोरखाको लिगलिगकोटमा दौड जितेपछि द्रब्य शाह गोरखाको राजा बनेका थिए । राइनासकोटमा बाइसीचौबिसी राज्य शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट तथा गढी रहेका छन् ।
लमजुङको सबैभन्दा ठूलो प्राकृतकि सम्पदाको रुपमा रहेको मनास्लु हिमाल, अन्नपूर्ण हिमाल दोस्रो, मनास्लु हिमाल दक्षिण पट्टी, हिमालचुली हिमाल, लमजुङ हिमाल, बुद्धहिमाल जस्ता सुन्दर हिमाल रहेको छ । हिमाल र हिम ताल र पोखरी हेर्न विदेशी र स्वदेशि पर्यटकहरु लमजुङ पुग्ने पर्यटकहरुको सख्या वर्षोनी बृद्धिहुँदै गएको छ । लमजुङबाट देखिने हिमाल गोरखा र मनाङ जिल्लाको सिमानामा पर्ने हुँदा धेरै हिमश्रृंखला सिमामा पर्ने जिल्लाको समेत साझा सम्पती बनेको छ । लमजुङ पर्यटनको लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जलविद्युतको महत्वका हिसाबले अग्र स्थानमा रहेको छ । जलस्रोतको प्रचुर सम्भावना बोकेको लमजुङमा विद्युत उत्पादनका लागि विभिन्न आयोजनाबाट विद्युत उत्पादन भएको छ । लमजुङमा सडक पुर्वाधारको बिकास सगै गाउँमा पनि ब्यापारी केन्द्रको बिकास भएको छ । सदरमुकाम बेसीसहर मात्र होइन सुन्दरबजार, भोटेओडार, दुइपिप्ले, भोर्लेटार, रामबजार, सोतीपसल, खुदी बजार, भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु, जगत च्याम्चे, तीनपिप्ले, कुन्छा, चितीजस्ता गाउँमा ग्रामीण व्यापारिक केन्द्रको बिकास भएको छ ।
इतिहासमा लमजुङ
शाह वशंको इतिहासमा रुचिराख्ने पर्यटकहरु लमजुङ पुग्नै पर्ने हुन्छ । शाहवंशीय राजाको शासनको उदगमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । सोह्रौं शताब्दीमा निर्माण भएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार पनि बनेको थियो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको लमजुङ दरबार पुरातात्विक विभागले पुन निर्माण गरेको छ । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई वि.सं. १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा बनाएका थिए । इतिहासमा कुलमण्डल भारतको चितोरगढका राजा मुश्लिमहरुको आक्रमणबाट बच्न भुपाल तथा उनका छोरा नेपाल तिर पसेका थिए । चितोरगढका राजा नेपालको रिडी हुँदै लिङखुमा पुगेर बस्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुइ छोराहरु जन्मिए । यि दुइको नाम खान्चाखान र मिचाखान थियो । खान्चाखान ढोडमा गए र त्यहाबाट भीरकोट, सतहु र गह्ररौंलाई आफ्नो कब्जामा लिए । कान्छो भाइ मिचाखान पहिले स्याङजाको नुवाकोटमा गएर राज्य गर्न थाले कान्छा भाई मिचाखानबाट विचित्र खान र कुलमन्डन खानको जन्म भयो । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी शाह लेख्न थाले ।
कालु शाहलाई लमजुङको राजा बनाए र शाहवंशीय राजपरम्परा सुरु गरका थिए। तर कालु शाहलाई लमजुङको राजा भएको कुरा घले जातिलाई मन परेको थिएन । कालु शाहले शासन गर्दा घेर्मु र घलेगाउ क्षेत्र घले राजाबाट शासित थियो । घलेराजा र कालु शाहाका सेनाहरु बिच बेला बखत बिवाद भइरहन्थ्यो । विवाद बढदै जाँदा घलेहरुले शिकार खेल्ने बहानामा जंगलमा लगेर मृग मार्ने बहाना गरी कालु शाहलाई वाण प्रहार गरेर मारि दिए । लमजुङ फेरी घले शासनभित्र फर्कियो । कालु शाहको हत्याको घटनापछि खजेदुरा, सुकराम क्याउसा, कुश्माखर घिमिरे, लक्ष्मण दुरालहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबहृम शाहलाई पुनःदोस्रो पटक कास्कीबाट ल्याएर राजा बनाएका थिए । यशोबहृम शाहलाई सुरुमै पुरानकोट दरबार लैजान अनुकूल नदेखी पहिला दुराडाँडामा राखिएको थियो । तर ज्योतिषी कुश्माखरले साइत हेर्दा राजा बनाउने उत्तम साइत टर्न लागेको देखिँदा यशोब्रहृम शाहलाई नजिकैको चेप्टो ठूलो ढुङ्गा माथि राखी सिन्दुर जात्रा गरी विसं १५५० असार १५ गते राजा घोषणा गरिएको थियो । त्यसपछि मात्र यशोब्रहृम शाहलाई पुरानकोट दरबारमा भित्राइएको थियो ।
शाहवंश आउनुअघि घलेराजाले लमजुङको राजकाज चलाएका थिए । घले राजाको राजधानी क्व्होलासोथारको पतन भएपछि खजे घले तुर्लुङमा गएर नयाँ कोट स्थापना गरी घलेबाट दुराको उपनामबाट स्वतन्त्र रुपमा रजाइँ गरेर बसेका थिए । खजे दुरालाई दाजुको राज्य विस्तारको अभियान मन परेको थिएन। त्यसैले, चिसंखुका घिमिरे बाहुनहरुसंग मिलेर कालु शाहलाई तुर्लुङकोटमा आफ्नो स्थानमा राजा बनाएका थिए। यशोब्रम्हा शाहलाई राजा घोषणा गरेर सिन्दूर जात्रा गरिएको ढुङ्गालाई सिन्दुरे ढुङ्गा भनिन्छ । ठूलोस्वाँरा गाउँ र तुर्लुङकोट गाउँको बीचमा पर्ने डाँडामा सिन्दुरे ढुङ्गा रहेको छ । सिन्दुरे ढुङ्गालाई दुरा समुदायले संरक्षण गरेर राखेका छन् । इतिहाससँग जोडिएको नायकको रुपमा रहेको खजे दुराको स्मृतिमा पार्कसमेत बनाइएको छ । दुराडाँडाको चियानपाटामा रहेको यस पार्कमा खजे दुराको सालिक पनि बनाइएको छ। दुराहरुको तत्कालीन शासनसँगको सम्बन्ध रहेको तुर्लुङकोट गाउँ माथि तीन वटा गढीहरु छन् । यी गढीहरु तत्कालीन बाइसे चौबिसे राज्यकालमा लमजुङ राज्यको दक्षिणी भागको सुरक्षा जिम्मेवारी पाएका दुराहरुले बनाएका हुन् ।
यशोब्रम्ह शाह लमजुङका राजा भए पनि दाजु कालु शाह मारिए झैं आफु पनि मारिने हो की भन्ने त्राश थियो । तर यशोब्रम्ह शाहले ल्होचन गुरुङसँग मित लगाइ कविक्याल, सवक्याल, पुरुक्याल र कोकिल गुरुङलाई हात लिएर पोजो भन्ने ठाउँमा घलेका सन्तानलाई मास्न लगाए। त्यसरी मद्दत गर्ने ल्होचन र दुरालाई राजा यशोब्रम्ह शाहले हले, पाटे, कोदाले, त्रिशाली, पञ्चसाली खोरिया फाँडने र शिकार गर्ने च्यांग्रा पाल्ने र व्यापार गर्ने सहुलियत प्रदान गरे । राजा यशोब्रम्ह शाहले तुर्लुङकोट र पुरानोडाँडामा राजमुकाम पनि गराएका थिए । अहिले पनि ती ठाउँहरुमा पुरानाकिल्ला र घरका अवशेषहरु देख्न सकिन्छ । यशोब्रम्ह शाहले गाउँहशहरमा कालिकामन्दिर, गोरखनाथ गुफा, दरबार, किल्ला, चौतारी, सिंढी र धर्मपानी निर्माण गर्न लगायको इतिहास छ । यशोब्रम्ह शाहले गाउँशहरमा गर्मीको राजधानी र बेंसीशहर जाडोको राजधानी बनाएका हुन ।










